अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालय बन्द
पर्सा । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि वीरगञ्ज महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यान दिँदै जेठ २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
’दुई दिन बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा गरिएको हो,’ उनले भने, ’पठनपाठन बन्द भए पनि सो अवधिमा विद्यालयको प्रशासन भने खुला रहनेछ ।
पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण जेठ २८ देखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए ।
’अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौँ,’ उनले भने, ’असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ ।
नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ ।

