विपद्का ३ हजारभन्दा बढी घटनामा १८७ जनाको ज्यान गयो

सांकेतिक तस्वीर

काठमाडौं। तीन महिनामा भएका विपद्का घटनामा परी १८७ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि आज (साउन १०) सम्म १८७ जनाको मृत्यु भएको छ। 

यो अवधिमा सबैभन्दा धेरै सर्पको टोकाइबाट ५३ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर २५ जना, लेक लागेर २१ जना, आगलागीमा परी १९ जनाको मृत्यु भएको छ। यसैगरी जनावरको आक्रमणबाट १७ जनाको ज्यान गएको छ भने पहिरोमा परी १६, बाढीले बगाएर १३, हावाहुरीमा परी १३ जनाको मृत्यु भएको छ।

विपद्का ३ हजार ७७९ घटनामा ४ हजार ८७६ परिवार प्रभावित छन् भने थप ३ जना बेपत्ता र १ हजार ९२ जना घाइते भएका छन्।

चौबीस घण्टाम सर्पदंश, बाढी, पहिरो, अविरल वर्षा, आगलागी, जनावरको आक्रमणबाट ३७ जिल्ला प्रभावित भएका छन्। हिजो बिहान १० बजेदेखि आज बिहान १० बजेसम्म ४१ वटा विपद्का घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। तीनजनाको भने उद्धार गरिएको छ।