भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्,हामीले उत्पादन गर्न सकेनौँ: उपेन्द्र यादव

फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत् खरिद गर्न आतुर भए पनि नेपालले उत्पादन बढाउन नसकेको आरोप लगाएका छन्।

आइतवार राजधानीमा आयोजित कार्यक्रममा उनले मागअनुसार नेपालले विद्युत् उत्पादन गर्न नसकेको बताएका हुन्। नेपालले करिब ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने गरेको उल्लेख गर्दै उनले अन्ताराष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न विद्युत् उत्पादनमा वृद्धि गरी निर्यातमा ध्यान दिनुपर्ने बताए।

उनका अनुसार बंगलादेशले ठूलो परिमाणमा नेपालसँग विद्युत्‌को अपेक्षा गरिरहेको छ। भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत् निर्यातको पर्याप्त सम्भावना रहेको उनले बताए। अध्यक्ष यादवले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत् खरिदमा अनिच्छा देखाए पनि अहिले त्यो परिस्थिति नरहेको बताए।

उनले चीन–भारतबीच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले कूटनीतिक पहल बढाएमा विद्युत् निर्यातमा देखिएका अवरोध हट्न उल्लेख गरे। उनले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने सबैभन्दा प्रभावकारी उपाय नै जलस्रोतको उपयोगमार्फत विद्युत् उत्पादन र यसको व्यापार रहेको बताए।

यादवले भने, ‘हामी ८७ प्रतिशत आयात र १३ प्रतिशत निर्यात गर्छौं। भारत, बंगलादेश लगायत केही मुलुकसँग विद्युत् व्यापार गर्ने समझदारी भएको छ। बंगलादेश र भारतलाई बिजुली चाहिएको छ। तर हाम्रो उत्पादन एकदम सुस्त छ।

उनले चुरे संरक्षणमा जोड दिन पनि सरकारसँग आग्रह गरे। पछिल्लो समयमा जलवायु परिवर्तन र चुरे विनाशको कारण हिमालमा हिउँ नहुने तथा तराईमा सुक्खापन हुँदा खानेपानी, सिँचाइ, ऊर्जा लगायतका क्षेत्रमा ठूलो असर परिरहेको उनको भनाइ छ।