५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला सुनाउने सर्वोच्चको तयारी

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वयं न्याय परिषद् सदस्यसहित ५२ जना संवैधानिक आयोग तथा निकायका पदाधिकारीको नियुक्ति खारेजीको माग गरिएको मुद्दाको आज फैसला सुनाउने तयारी गरेको छ ।

यसअघि जेठ २८ मा फैसलाको मिति तोकिएकोमा न्यायाधीशहरुको राय नमिलेका कारण आजलाई सारिएको थियो । करिब ५ वर्षअघिको नियुक्तिविरुद्धको मुद्दा चलिरहेका बेला यसबीचमा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुख नै खाली भइसकेका छन्, भने धेरै सदस्य पनि उमेर हद र अन्य कारणले अवकाशमा गइसकेका छन्।

सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ यही जेठ २ गते सकेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले मुद्दामा माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो । त्यसअघि यो मुद्दाको सुनुवाइले प्राथमिकता पाएको थिएन ।