राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता तान्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो।
निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्न लागेको छ। साँवा ब्याज भुक्तानी आगामी भदौ १५ गते बुझाउने राष्ट्र बैंकले जनाएको छ। निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ।
नयाँ मौद्रिक नीति कार्यान्वयनमा आएपछि केन्द्रीय बैंकले पहिलो पटक निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।
सोमबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
