प्रचण्ड-प्रभाकर विवादले माओवादी गम्भीर संकटमा,दुवै पक्ष देशभर गुटको भेला गर्ने तयारीमा

काठमाडौं।नेकपा माओवादी केन्द्रमा देखिएको नेतृत्वस्तरीय द्वन्द्वले पार्टीलाई नयाँ संकटतिर धकेल्ने संकेत देखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) बीचको राजनीतिक झगडाले पार्टीको आन्तरिक एकतालाई गम्भीर चुनौती दिएको छ।
यो विवाद अब केवल पार्टीको भित्री कोठामा मात्र सीमित नरहेर सार्वजनिक भइसकेकाे छ। सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा समेत यसको प्रभाव देखिन थालेपछि माओवादी केन्द्रको भविष्यका बारेमा गम्भीर प्रश्नहरू उठेका छन्। पार्टीका वरिष्ठ नेताहरू बीचको यो खुल्ला विरोधले संगठनको आन्तरिक अनुशासनमाथि प्रश्नचिह्न खडा गरेको छ।

विशेष गरी उपमहासचिव वर्षमान पुन र नेता सुदन किराँतीले यस विवादलाई थप उत्तेजनापूर्ण बनाउने काम गरेका छन्। किराँतीले गत आइतबार बिहान गरेको अभिव्यक्ति प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौं भन्ने अभिव्यक्तिले पार्टी भित्रको तनावको गहिराइलाई झल्काएको छ।

यस विवादमा सबैभन्दा गम्भीर पक्ष भनेको उपमहासचिव शर्माले अध्यक्षमाथि भ्रष्टाचारी र निरंकुश भएको संकेत गरेको विषय हो। यस्तो गम्भीर आरोप लगाएपछि उनीमाथि कारबाहीको माग उठेको छ। यो अवस्थाले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्वको विश्वसनीयताका बारेमा प्रश्नहरू खडा गरेको छ।

माओवादी केन्द्रका लागि यो कुनै नयाँ अवस्था होइन। पार्टीले विगतमा पनि नेतृत्वस्तरीय द्वन्द्वका कारण कठिन परिस्थितिहरूको सामना गरेको छ। तर यस पटकको विवाद फरक प्रकृतिको देखिएको छ। यो केवल व्यक्तिगत मतभेद नहुँदै संगठनात्मक र वैचारिक अन्तरद्वन्द्वको रूप लिएको छ।

यो विवादले माओवादी केन्द्रको भविष्यका लागि गम्भीर संकेत दिएको छ। पार्टीको एकताका साथै नेपालको राजनीतिक स्थिरतामा समेत यसको प्रभाव पर्न सक्ने आशंका गरिएको छ। विशेष गरी माओवादी केन्द्रको यो आन्तरिक संकटले देशैभरका नेता कार्यकर्तामा समेत प्रभाव पार्न सक्ने देखिएको छ।

यस अवस्थामा पार्टीले आफ्नो आन्तरिक समस्या समाधान गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा यो विवादले पार्टीको संगठनात्मक एकतालाई गम्भीर क्षति पुर्याउन सक्ने स्थिति छ। प्रचण्ड र प्रभाकर दुवै पक्षले संयम अपनाउँदै संवादको बाटो खोज्नुपर्ने देखिन्छ।

माओवादी केन्द्रमा प्रचण्ड-जनार्दन वारपार 

त्यस्तै माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच बढ्दो तनावले पार्टीलाई गम्भीर संकटमा धकेलेको देखिएकाे छ। दुवै नेताका समर्थकहरूले देशभरका जिल्लाहरूमा छुट्टाछुट्टै भेला आयोजना गर्ने तयारी गरिरहेका छन्।

स्रोतका अनुसार जनार्दन शर्माले चितवनमा शक्ति प्रदर्शनको तयारी गरिरहेका छन्। उनका समर्थकहरूले प्रचण्डलाई देखाउन भन्दै व्यापक भेलाको आयोजना गर्ने योजना बनाएका छन्। प्रचण्डले जनार्दनको गृह जिल्लामा उनले मेहनत गरेर आयोजना गरेको सभालाई सम्बोधन गर्दा उनलाई अपमान गरेको आरोप लगाइएको छ।

उपमहासचिव वर्षमान पुनका समर्थकहरूले गुटगत गतिविधि गर्ने नेताहरूविरुद्ध कारबाही गर्न प्रचण्डलाइ दबाब दिइरहेका छन्। उनीहरूले पार्टी एकताका लागि कडा निर्णय लिन आग्रह गरेका छन्। वर्षमान पक्षले यो गुटगत लडाइँले पार्टीको छविमा नकारात्मक प्रभाव पार्ने भन्दै तत्काल समाधानको पक्षमा निर्णय गर्न दबाब बढाएका छन्।

अर्कोतर्फ, दुवै पक्षका मध्यमपन्थी नेताहरूले मध्यस्थताको प्रयास गरिरहेका छन्। तर समझदारीको वातावरण बन्न नसकेको स्थितिमा गुटगत भेलाहरूको श्रृंखला सुरु हुने देखिएको छ।

पार्टीभित्रको यो संकटले आगामी राजनीतिक घटनाक्रममा माओवादी केन्द्रको भूमिकामा प्रभाव पार्ने देखिएको छ। यो विवाद छिट्टै समाधान नभए पार्टी विभाजनको स्थितिसम्म पुग्न सक्ने अनुमान गरिएको छ।