गुण्डानाइके चक्रे मिलनसहित ४७ पक्राउ
काठमाडौं। गुण्डानाइके मिलन गुरुङ (चक्रे मिलन) सहित गुण्डागर्दीमा संलग्न ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले महाराजगञ्ज ठमेल र दरबारमार्ग क्षेत्रबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।
नागरिक र व्यवसायीलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधि बढाउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिए। बिहीबार चक्रेको जन्मदिन थियो। महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेकै समय प्रहरी पुगेको थियो ।
उनीहरुलाई प्रहरी परिसरमै राखेर सोधपुछ र ‘स्क्रिनिङ’ भइरहेको बोहराले बताए। यसअघि बुधबार राति प्रहरीको इन्काउण्टरमा मारिएका कुमार ‘घैँटे’का सहयोगी युवराज गुरुङ भनिने ‘सानुभाइ’ ठमेलबाट पक्राउ परेका थिए ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि पछिल्लो समय अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको टोलीले राति संयुक्त अपरेसन चलाइरहेका छन् ।
