भट्टको हस्तक्षेपले फुटबाट जोगियो नेकपा (बहुमत),चलाउने समूहको योजना चकनाचुर
काठमाडौं । नेकपा (बहुमत) पार्टीभित्र देखा परेको आन्तरिक संकट युवा नेता हरिष भट्टको हस्तक्षेपपछिको नाटकीय रुपमा हल भएको छ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को नेतृत्वमा रहेको पार्टी तेस्रो केन्द्रीय समिति बैठकमा उतारचढाव पार गर्दै अन्ततः फुटबाट जोगिएको छ।
कारबाहीको चक्र र संकटको सुरुवात पार्टीले प्रभावशाली नेता सरद रसाइली र पुर्ण रसाइली ‘रक्तिम’ माथि अनुशासनको कारबाही गरेपछि संगठनभित्र असन्तोष चुलिएको थियो।
सामाजिक सञ्जाल हुँदै कार्यकर्ताहरू आक्रोशित मुद्रामा प्रस्तुत हुन थालेका थिए। कतिपय नेता कार्यकर्ताले पार्टी नेतृत्व नै नीति, नियमभन्दा बाहिर गएको आरोप लगाएका थिए।
गलत सूचनाको भरमा निर्णय
नेता रसाइलीले नवौं महाधिवेशनमा पार्टीप्रति असहमति राख्दै केही समय सक्रिय राजनीतिबाट टाढा बसेका थिए। पछि महासचिव बास्तोला र नेता दिपक चलाउनेको आग्रहमा पुनः पार्टीमा फर्किएका थिए।
विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट आएका रसाइली र जनयुद्धका अनुभवी नेता रक्तिमविरुद्ध गरिएको कारबाही आधारहीन र पूर्वाग्रही भएको ठहर भएपछि पार्टी भित्र गम्भीर असन्तोष उत्पन्न भएकाे थियो।
भट्टको निर्णायक हस्तक्षेप
प्रारम्भमा पोलिटब्युरो सदस्य तिलक पुन, मिलन राई, नरेन्द्र विक जस्ता नेताहरूले कारबाही फिर्ता गराउन पहल गरे पनि सफल भएनन्।
त्यसपछि युवा संगठनका अध्यक्ष हरिष भट्टले नेतृत्वलाई स्पष्ट रूपमा जानकारी गराउँदै हस्तक्षेप गरे। उनले कारबाही गलत सूचनामा आधारित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको प्रमाणसहित महासचिवलाई बुझाए।
भट्टको तीव्र र तथ्यगत कूटनीतिक संवादपछि बास्तोलाले कारबाही फिर्ता लिने निर्णय गरे। यो निर्णयसँगै पार्टीभित्रको तिक्तता कम भएको छ र दुवै नेतालाई पुरानै जिम्मेवारीमा पुनर्बहाली गरिएको छ। यसले नेतृत्वमा रहेको कमजोरीप्रति पनि स्पष्ट आत्मसमीक्षा गराएको संकेत देखिएको छ।
कञ्चनपुरका भट्ट, कञ्चनको काँध बने
जनयुद्धको अवधिभर युरोप बसेका महासचिव बास्तोला संगठनमा अनुभव कम भएको नेताका रूपमा चिनिन्छन्। यही कमजोरीको फाइदा उठाउँदै पार्टीका दोस्रो वरियताका नेता उदय बहादुर चलाउने (दिपक) ले पार्टीभित्र अनेक षड्यन्त्र र अस्थिरता निम्त्याउने प्रयास गर्दै आएका थिए।
देखावटी जीवन शैली सरल र बोलिमा चिनी मिसाएको शैलिमा प्रस्तुत हुने चलाउने पेटमा दात भएका नेताका रुपमा उनका पुर्व निकस्टहरुले बताउन गरेका छन्।
लामो समय चलाउनेकै विश्वासपात्र रहेका हरिष भट्टले चलाउनेको पछिल्ला गतिविधिमा कडा असहमति जनाउँदै महासचिव बास्तोलाको पक्षमा उभिए। भट्टको योजनाबद्ध सक्रियताले पार्टीभित्र नया समीकरण कायम भएको छ भने चलाउनेको गुप्त योजनामा तुषारापात भएको छ।
भट्टको पृष्ठभूमि र प्रभाव
काठमाडौ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका भट्ट लामो समयदेखि क्रान्तिकारी युवा आन्दोलनमा सक्रिय छन्।
उनले नेतृत्व गरेको कालोमोसो, निषेधित क्षेत्रमा आन्दोलन, सिंहदरबार प्रवेशजस्ता कार्यहरूले उनी नेतृत्व क्षमतायुक्त योजनाकारका रूपमा स्थापित भएका छन्।
न्यायाधीश खुशिराम थारु र अनिल महर्जनमाथिको कारबाहीदेखि लिएर सरकारप्रतिको जनदबाबसम्मका आन्दोलनमा उनी अग्रसर रहे। तर ती आन्दोलनहरूको श्रेय लिएर दिपक चलाउनेले ‘समाजवादी दृष्टिकोण’ नामक म्यागजिनका लागि ठूलो रकम उठाएको बुझाइ भट्टको छ।
भट्टले आफ्ना निकस्तहरु सङ्ग नेता दिपकको बिषयमा “काम गर्ने कालू मकै खाने भालु” भन्ने उखान चरित्रार्थ भएको बताउने गरेका छन्।
पार्टी नेतृत्वतर्फको अगाडि बढ्दो छवि
दिपक चलाउनेले पार्टी नेतृत्व हत्याउने अभिप्राय सहित गरिएको हस्ताक्षर संकलन,आफ्नै दाजु प्रेम चलाउनेलाई ब्युरो इञ्चार्ज बनाउने जस्ता कार्यप्रति भट्टकाे असहमत रहदै आएको थियाे।
त्यसैको परिणामस्वरूप उनले प्रमोद सिंह, सुदिप सुर्खेती, दिपेन्द्र ऐरी, प्रकाश शर्मा लगायतका आफु निकटका नेताहरूसँग मिलेर धर्मेन्द्र बास्तोलालाई बलियो साथ दिए।
यसले पार्टीभित्र भट्टलाई सम्भावित भावी नेतृत्वको रूपमा अघि बढाएको छ। हाल पार्टीभित्र भट्ट जत्तिको शैक्षिक योग्यता,सांगठनिक क्षमतायुक्त नेता अन्य छैनन् भन्ने बुझाइसमेत बलियो बन्दै गएको छ।
