एमसीसीको पक्षमा देउवा भन्दा ओली झन् समर्थक हुन: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसभन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन्।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा काँग्रेस सभापति शेरबहादुर देउवाभन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको बताए। एमसीसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा काँग्रेसभन्दा बढी पक्षधर रहेको पाएको बताए।

उनले एमसीसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि काँग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरू गएको स्मरण गरे तर एमालेले अपमानजनक भाषा प्रयोग गरेको उनको आरोप छ। एमाले नेपाललाई आईपीएसको सदस्य बनाउने पहल गर्ने र एसपीपीमा सैद्धान्तिक सहमति गर्ने पार्टी भएको आरोप लगाए।

प्रचण्डले भने, ‘जसरी पनि एमसीसी पारित हुने भयो। हामीले रोक्नसक्ने स्थिति भएन। एमाले र काँग्रेस मिलेपछि भइहाल्छ। काँग्रेसभन्दा त केपी ओली त झन् कडा।

देशको भलो हुन्छ भने जोसँग भए पनि वार्ता गर्न के हुन्छ भनेर अप्ठ्यारो मानी मानी गएका थियौँ तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, काँग्रेसभन्दा त धेरै बढी रहेछ। आइपिएसको सदस्य बनाउने पनि उहाँहरु नै हो। एसपीपीसँग पनि सैद्धान्तिक सहमति गर्नेहरु पनि उहाँहरू नै हो।’

प्रचण्डले आफूहरूको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहितएमसीसी पास गरिएको बताए।