गाउँलेले राति रुखमा बाँधेका व्यक्तिको मृत्यु,छोरासहित ४ जना पक्राउ
काठमाडौं । झापामा गाउँलेले रुखमा बाधेका एक व्यक्ति मृत भेटिएका छन्। गएराति करिब साढे १० बजे झापा गाउँपालिका– १ लसुनामा प्लाष्टिकको डोरीले आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन्।
अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई राति स्थानीयले आँपको रुखमा बाँधेका थिए। बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
घटनापछि प्रहरीले मृतकको छोरा अनतलाल सोरेन, सोही स्थानका महादेव टुडु, लुखिराम टुडु र लखिराम टुडुलाई पक्राउ गरेको छ। अन्य फरार छन्। फरारको पनि खोजी भइरहेको र पक्राउ परेकाहरुमाथि ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ।
