कैलाली कारागारमा थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाएका छौं: गृह मन्त्रालय

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भएको झडप र असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शनिवार सिंहदरबारमा आयोजित बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र परिस्थिति नियन्त्रणमा लिन सूक्ष्म ढङ्गले काम भइरहेको बताए।

उनले भने,गृहमन्त्रीको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख र गृहसचिवसहित छलफल भएको छ। यो घटनालाई गम्भीरताका साथ लिइएको छ र परिस्थिति सहज बनाउन विशेष ध्यान दिइएको छ।

उनका अनुसार, झडपमा गम्भीर घाइते भएका एक कैदीलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्था गरिएको छ, जुन उडिसकेको छ । अन्य घाइतेहरूको उपचारको समुचित प्रबन्ध गरिएको छ।

साथै, कारागारको पूर्ण सुरक्षा सुनिश्चित गर्न र थप अप्रिय घटना रोक्न कडा व्यवस्था मिलाइएको काफ्लेले जानकारी दिए। कारागारमा ब्लक ‘ए’ र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।