सरकारले मात्रै निस्शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले निःशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामुदायिक सहभागिता आवश्यक रहेको औँल्याए ।

मन्त्री पौडेलले राज्यको लगानी यी क्षेत्रमा अपर्याप्त रहेको र ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताए । ‘शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान अपरिहार्य छ । सरकार एक्लैले निःशुल्क सेवा दिन सक्दैन,’ उनले भने ।

उनले योगदान गर्न सक्ने नागरिकलाई यी क्षेत्रमा जोड्नुपर्नेमा जोड दिए । शहरी क्षेत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा केही हदसम्म उपलब्ध भए पनि ग्रामीण क्षेत्रमा विकल्पको अभाव रहेको उनको भनाइ छ। ग्रामीण क्षेत्रमा शिक्षालय र स्वास्थ्य संस्था स्थापना गर्न आफ्नै लगानीमा पहल गर्नुपर्ने उनले सुझाए । यसका लागि व्यवस्थित योजना बनाएर अघि बढ्नुपर्ने मन्त्री पौडेलले बताए ।