पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी चोरी,दुई जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाले मृतकका आफन्तको उजुरीपछि आरोपितलाई पक्राउ गरेर सोधपुछ थालेको छ । पक्राउ परेका व्यक्ति पशुपति आर्यघाटमा शव जलाउने काम गर्छन् ।

एक मृतकका आफन्तको जाहेरी परेपछि शुक्रबार नै उनीहरूलाई पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए । जाहेरवालाले पक्राउ परेका व्यक्तिले शवबाट हड्डी निकालेको आरोप लगाएका छन् ।

मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो । यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता छ ।

शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

जीवित मानवबाट रगत र मासु संकलन गर्ने कुरा सम्भव नहुँदा शवको मासु निकालिएको हुनसक्ने प्रहरीको अनुमान छ । मानिसको नलीखुट्टाको हड्डी खेलाएर मसान जगाउने अघोरी बाबाले शव दहनको काम गर्ने घाटेसँग मिलेमतो गरेको अनुमान अनुसन्धानरत ती प्रहरीले गरेका छन्।