बिमा प्राधिकरणको अध्यक्षका लागि शरद ओझा ‘अयोग्य’
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि शरद ओझा ‘अयोग्य ठहर’ भएका छन् । अनुभवको फर्जी कागजात बुझाएको आरोपमा छानबिनमा परेका ओझा अयोग्य ठहर भएका हुन् ।
मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले प्राधिकरण अध्यक्षका लागि ओझा अयोग्य रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । यससँगै अब जाँचबुझ समितिको सिफारिसबमोजिम ओझालाई पदबाट बर्खास्त गरी अर्को नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेछ ।
गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेका थिए।
समितिमा नेपाल सरकारका पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बिमा समितिका पूर्वसदस्य कपिलदेव ओली सदस्य थिए। समितिले ओझाको कार्यक्षमता, पदीय जिम्मेवारी, आचरण र योग्यता अनुभवमा केन्द्रित भएर ओझामाथि छानविन गरेको थियो। यस क्रममा अनुभवजस्ता विषयमा कैफियत भेटिएको स्रोतको भनाइ छ।
जाँचबुझमा संलग्न स्रोतले भन्यो, ‘हामीलाई दिइएको कार्यादेशबमोजिम जाँचबुझ गर्दा कानुनले जुन योग्यता तोकेको थियो, त्यसबमोजिमको योग्यता रहेको पुष्टि भएन। उच्च व्यवस्थापनमा काम गरेको भनेर ढाँटेर नियुक्ति लिएको देखियो ।
उनका अनुसार ओझा सञ्चार क्षेत्रमा मात्रै अनुभवी देखिएका छन्। त्यसमा पनि उच्च व्यवस्थापनको अनुभव नभएर सामान्य जागिरेका रूपमा मात्र काम गरेको पाइएको छ स्रोतको भनाइ छ।
सरकारले प्राधिकरण अध्यक्षबाट निलम्बन गरेपछि ओझा साउन ८ मा त्यसविरुद्ध सर्वोच्च अदालत पनि गएका थिए। तर, साउन १९ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।
गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो। बीमा ऐनको दफा १२ मा छानबिन समितिको सिफारिसमा सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
