गृह मन्त्रालयले माइलस्टोन कार्यान्वयनमा बनायो कीर्तिमान, लेखक नेतृत्व पाँच बर्ष यताकै उत्कृष्ट

फाइल तस्वीर

काठमाण्डौं। सरकारले निर्धारण गरेका वार्षिक माइलस्टोनहरूको कार्यान्वयनमा गृह मन्त्रालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा रहेको मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा ८८ प्रतिशत माइलस्टोन सम्पन्न गरी पछिल्लो पाँच वर्षयताकै उत्कृष्ट कीर्तिमान स्थापना गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ अनुसार गृह मन्त्रालयले शासकीय सुधारतर्फ निर्धारित १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न गरेको छ भने १३ वटा चालु आर्थिक वर्षमा निरन्तरता पाएको छ।

माइलस्टोन कार्यान्वयनको क्रममा गृह मन्त्रालयपछि दोस्रो स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशत प्रगतिसहित रहेको छ। यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत प्रगति हासिल गरेको प्रतिवेदनमा उल्लेख छ।

गृह मन्त्रालयको विगतका आर्थिक वर्षहरूको प्रगति हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा ८६.८ प्रतिशत, २०७८/०७९ मा ६४.५ प्रतिशत, २०७९/०८० मा ६९.१ प्रतिशत र २०८०/०८१ मा ६८ प्रतिशत माइलस्टोन प्रगति भएको थियो। यस वर्षको ८८ प्रतिशत प्रगतिले निकै सुधार देखाएको छ।

मुख्य उपलब्धिहरू

गृहमन्त्री रमेश लेखकले आफ्नो कार्यकालमा नीतिगत र कानुनी सुधार, व्यवस्थाविरोधी गतिविधि नियन्त्रण, अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेस्क र महाशाखा गठन जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ।

यस्तै, लागूऔषधविरुद्ध महाअभियान सञ्चालन, विपद् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजस्व चुहावट र सीमापार अपराध नियन्त्रण, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमनको सुधार र निःशुल्क हेलि उद्धार सेवा जस्ता क्षेत्रमा उल्लेखनीय काम भएको छ।

सरकारले माइलस्टोनको प्रगतिलाई शासकीय स्वरूप, पूर्वाधार क्षेत्र, आर्थिक र सामाजिक क्षेत्र गरी चार भागमा विभाजन गरेर मूल्यांकन गर्ने गरेको छ। यस प्रणालीले मन्त्रालयहरूको कार्यसम्पादनमा प्रतिस्पर्धा र जवाफदेहिता सुनिश्चित गर्दै सरकारी निकायहरूको प्रभावकारितामा सुधार ल्याएको छ।