प्रधानमन्त्रीलाई बालेनले भने-लिपुलेकका विषयमा कुरा राख्न नबिर्सनु होला

काठमाडौं । पाँच दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन् ।

हालै भारत र चीनबीच नेपाली भूमि लिपुकलेकलाई दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गरेको भएको थियो । उक्त सहमतिपप्रति नेपालले गम्भीर आपत्ति जनाइसकेको छ ।

यसैबेला प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गरेका छन् । मेयर बालेन शाहले शनिबार नै सामाजिक सञ्जालमार्फत चीन सरकारलाई लिपुलेक हाम्रो हो भन्ने कुरा सम्झाइदिन अनुरोध गरेका हुन् ।

चीन भ्रमणको शुभकामना दिँदै मेयर बालेनले लेखेका छन्, ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला। अल द बेस्ट। हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससीओ० को २५औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेट हुने कार्यक्रम छ । बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति हान चङसँग पनि प्रधानमन्त्रीले भेट गर्नेछन् ।

भदौ १६ (सेप्टेम्बर १) मा थियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ ।
भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । थियानजिनबाट प्रधानमन्त्री त्यही दिन बेइजिङ जाने कार्यक्रम छ ।

शिखर सम्मेलनका क्रममा रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चीन सरकारले जानकारी दिएअनुसार त्यसमा ५० भन्दा बढी देशले सहभागिता जनाउने छन् । यस भ्रमणबाट नेपाल र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनाका साथ एससीओ शिखर सम्मेलनमा सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने विश्वास गरिएको छ । चीनबाट प्रधानमन्त्री ओली १८ भदौमा स्वदेश फर्किने तालिका छ।