कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बैंकक अपेक्षा छ ।
नेपाल सरकार अन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्र मध्ये एक हो ।
बैंकका अनुसार बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग प्रदान गरिएको हो ।
बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न योगदान पुर्याउँदै आएको छ ।
