धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
जनकपुरधाम । भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा ८१ लाख सात हजार ७ सय ८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७ सय ८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको छ ।
यस्तै यो अवधिमा लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले भएको जानकारी दिए । यसक्रममा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरोहेरोइन, २ सय ४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको उनले बताए।
त्यसैगरी, हातहतियारसम्बन्धी एउटा मुद्दा दर्ता गरिएको र तीन जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । बरामद हातहतियारमा पेस्तोल एक थान, पेस्तोलको म्यागजिन एक थान, ७।६५ केएफ लेखिएको गोली एक थान र नौ एमएम केएफ लेखिएको गोली राउन्ड एक थान गरी पाँच थान सामग्री रहेको प्रहरीले जनाएको छ।
उनका अनुसार फैसला कार्यान्वयन अभियानलाई पनि तीव्रता दिएको छ। यस अवधिमा ४ सय १० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ। विभिन्न अदालतबाट फैसला भएका व्यक्तिमाथि कारबाही गर्दै १ सय ५८ वर्ष आठ महिना सात दिन कैद सजाय कार्यान्वयन गरिएको तथा जरिवाना ६३ लाख ७७ हजार २ सय ६१ रुपैयाँ असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।
