२४ घण्टामा १ लाख ११ हजारले छाडे काठमाडौं

काठमाडौं।दशैंको टीका नजिकिएसँगै गाउँ फर्कनेको संख्या बढेको छ।

फुलपातीको दिन आज काठमाडौं उपत्यकाका प्रमुुख नाकाहरुमा शहर छाड्नको चहलपहल देखिएको छ। झिसमिसे बिहानैदेखि, नयाँ बसपार्क, कोटेश्वर, जडिबुटी, कलंकी लगायत क्षेत्रमा यात्रहरुको भीड देखिएको छ।

आजका दिन धेरैले काठमाडौँ छाडेर आफ्नो गन्तव्यतर्फ लागेकाले सवारी साधनको चापका कारण विभिन्न नाका अस्तव्यस्त देखिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा आज बिहान ६ बजेसम्म एक लाख ११ हजार ६३९ जनाले काठमाडौं छाडेका छन्।

१८ हजार ६१३ सवारी बाहिरिएका छन्। यही अवधिमा ६१ हजार ८२२ जना काठमाडौं भित्रिएका छन्। घटस्थापनायता चार लाख ६७ हजार ९७७ जनाले काठमाडौं छाडेको उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

विद्यालय तथा सरकारी र निजी कार्यालयहरुमा समेत विदा हुने भएकाले आजदेखि उपत्यका छाड्नेको संख्या बढ्ने गरेको छ।