कांग्रेस कार्यवाहक सभापतिले गरे गगन र विश्वप्रकाशसँग छलफल
काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग परामर्श गरेका छन् । आफ्नै निवास गोल्फुटारमा कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माबिच जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाबारे छलफल भएको हो ।
बिहान संस्थापन इतर समूहका नेता डा.शेखर कोइरालाले गरेको छलफलमा महामन्त्री थापाले कार्यवाहक सभापति खड्काले अनुमति नदिए पनि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने बताएका थिए ।
बैठक १ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।
महामन्त्री थापाले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार गरेका थिए । गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने अनुमति नपाएपछि सचिवालयमार्फत सार्वजनिक गरेका थिए ।
आजको बैठकमा त्यही कार्यतालिका पेस गर्ने थापाको तयारी छ । बिहीबारको बैठकमा कार्यतालिका पेस गर्न नपाउने भएपछि महामन्त्री थापाले बैठक बहिस्कार गरेका थिए।
