कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् एजेण्डा ?
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन तथा पार्टीका बारेमा सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा छलफल हुने बताइएको छ।
कम्तिमा दुईदिनसम्म चल्ने बैठकमा संस्थापन इतर समूहले यही साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो ।
पार्टी नेतृत्वले आपसी एकताका लागि ठोस पहल नगरेको भन्दै नयाँ दल खोलेर अघि बढ्ने तयारीमा रहेको संस्थापन इतर पक्ष सर्वोच्च अदालतले पाटीको आधिकारिकताका विषयमा पुनरावलोकनको बाटो खुला गरेपछि केही पछि हटेको छ।
