सुदूरपश्चिमको लगातार पाँचौं जित,जनकपुरको लगातार चौथो हार
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो एकछत्र राज कायमै राखेको छ। शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको हो।
यो नतिजासँगै जनकपुर बोल्ट्सको खराब प्रदर्शनको सिलसिला जारी छ। जारी प्रतियोगितामा जनकपुरको यो लगातार चौथो हार हो र टोली अझै जितविहीन छ।
जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात निकै खराब रहेको थियो। इनिङको पहिलो बलमै माज सदाकतले ओपनर जोस ब्राउन ९०० लाई बोल्ड गरे।
लगत्तै १.३ ओभरमा क्रिस लिन (१) सन्जय कृष्णमूर्तिद्वारा क्याच आउट भएपछि स्कोरबोर्डमा जम्मा १ रन हुँदा सुदूरपश्चिमले २ विकेट गुमाइसकेको थियो।
संकटमा परेको टोलीलाई ओपनर विनोद भण्डारी र युवा ब्याटर ईशान पाण्डेले सम्हाले। यी दुईबीच तेस्रो विकेटका लागि ९२ रनको साझेदारी भयो।
ईशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ८ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय पारी खेले। उनी १५.४ ओभरमा आउट भए।
विनोद भण्डारीले ४९ बलमा ४२ रन बनाए। अन्त्यमा हरमित सिंहले १० बलमा २५ रनको विस्फोटक पारी खेल्दै टोलीलाई सहज जित दिलाए। कप्तान दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे। जनकपुरका माज सदाकतले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रनको योगफल तयार पारेको थियो।
जनकपुरको सुरुवात पनि राम्रो हुन सकेन। पावरप्ले भित्र ३५ रन जोड्दा ३ विकेट गुमाइसकेको अवस्थामा जान निकोल लोफ्टी(इटन र सन्जय कृष्णमूर्तिले पारी सम्हालेका थिए।
सन्जय कृष्णमूर्तिले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेले। लोफ्टी-इटनले ३३ बलमा ३९ रन बनाए।
मध्यक्रम सम्हालिए पनि डेथ ओभरमा सुदूरपश्चिमका बलरहरू हाबी भए। अविनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए।
त्यस्तै, स्कट कुगेलेइनले ३ विकेट हात पारे।यो नतिजापछि सुदूरपश्चिम रोयल्स ५ खेलमा ५ जितसहित १० अंकका साथ शीर्ष स्थानमा कायमै छ।जनकपुर बोल्ट्स भने ४ खेलमा अंकविहीन रहँदै तालिकाको पुछारमा संघर्षरत छ।
