हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ: ओली
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएको बताएका छन्। उनले यो विषयलाई अतिरञ्जित गर्नु नपर्ने बताउँदै समय र आवश्यकताअनुसार यस्तो परिवर्तन आफैँ हुने उल्लेख गरे।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एघारौँ महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,महाधिवेशन हुँदा कमिटीमा कोही साथीहरू हट्ने, कोही नयाँ आउने यो त निरन्तर चलिरहने सिलसिला हो।
पुनर्गठन हुनुपर्छ, हस्तान्तरण–पुस्तान्तरण गर्नुपर्छ भनेर जोडजोडले कराउनुपर्ने विषय नै होइन। उनले भने, ‘यो त स्वाभाविक कुरा हो। हस्तान्तरण पनि हुन्छ, पुस्तान्तरण पनि हुन्छ र हुनै पर्छ। यो नगर्ने भनेर रोक्न पनि सकिँदैन। त्यसैले आवश्यकता र समयअनुसार यो प्रक्रिया आफैँ अघि बढ्छ।
अध्यक्ष ओलीले पार्टी अधिवेशनको मुख्य उद्देश्य पनि यही रहेको स्पष्ट पारे। उनले भने,अधिवेशन भनेको विधान संशोधन,सङ्गठनात्मक पुनर्गठन,नीतिगत निर्णय,समसामयिक राजनीतिक प्रश्नहरूको समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्नका लागि गरिन्छ। यी सबै कुरा मिलाउनकै लागि अधिवेशन आवश्यक हुन्छ।
