उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउँदै छौँ: कुलमान घिसिङ
काठमाडौं। शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका नदीहरूलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन्।
थापाथलीस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको शनिवार निरीक्षण गर्दै उनले यस्तो बताएका हुन्।
उनले बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरुलाई सफा गर्नको लागि धेरै प्रशोधन प्लान्ट आवश्यक पर्ने बताए। सबै नदी सफा गर्नको लागि प्रतिदिन ६ सय एमएलडीको प्लान्ट चाहिने उनले जानकारी दिए।
उनकाअनुसार हाल उपत्यकामा निर्माणधिन प्लान्टहरू यसको २० प्रतिशत मात्रै भएको बताए। उनले वागमती नदी सफा गर्नको लागि गुह्येश्वरीमा प्लान्ट बनेको र अन्य केही ठाउँहरूमा पनि बन्ने क्रममा रहेको जानकारी दिए।
थापाथली करिडोरमा बनेको प्लान्टले टुकुचाको ढललाई सफा गरेर पानीलाई वागमतीमा फाल्ने उनको भनाइ छ। उनले एडिबीको ३ अर्ब १८ करोड लगानीमा प्लान्ट निर्माणको काम भइरहेको जानकारी दिए।
प्लान्ट निर्माणमा केही ढिलाई भएको उनले स्वीकार गरे। रुख कटानीमा ढिलाई र लालितपुरतर्फ पर्ने भूभागमा स्थानियको विरोधले काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिएको उनको भनाइ छ।
विवाद समाधान गर्न आवश्यक छलफल गर्ने उनले जानकारी दिए। उनले काठमाडौँतिर बन्ने संरचनाहरू भने करिब डेढ वर्षभित्र सम्पन्न हुने बताए। प्लान्टको संरचना काठमाडौँ महानगर र ललितपुर महानगरमा बन्न लागेको छ।
