बयान दिन्नँ,गोली ठोके हुन्छ: केपी ओली
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै बयान नदिने अडान लिएका छन्।
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको बेलामा उनले त्यसका लागि आफू तयार नरहेको बताएका हुन्। एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक हिमालय टिभीको अन्तर्वार्तामा ओलीले बरु आफू गोली खान र जेल जान तयार रहेको तर बयान नदिने बताएका हुन्।
बयान यदि मान्नु भएन भने चाहिं ‘हामी यसरी गरेर भए पनि ल्याउँछौ, त्यसरी गरेर भए पनि ल्याउँछौ’ भन्ने भाषा छ सरकार पक्षबाट आइरहेको छ नि भन्ने प्रश्नमा ओलीको जवाफ छ! बयान दिन मानेन भने गोली ठोके हुन्छ नि !यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने‘ यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली!उहाँहरूसँग छ नि त बन्दुक ! के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरे बापत।
उनले बयानका लागि भन्दै आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने उल्लेख गरे।मैले कति पल्ट भन्नु, बयान दिनुपर्ने छैन। तपाईंले रिजल्ट निकालिसक्नुभयो,फेरि जाँच म किन दिने? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन। मेरो कुराकानी हुन्छ। कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र !
