कार्यकारी प्रमुख र सर्वपक्षीय सरकारको मागसहित सिंहदरबार गेटमा अल जेन नेपाल मुभमेन्टको प्रदर्शन,हरिकृष्ण गजुरेलसहित चार अभियन्ता पक्राउ

काठमाडौं। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य गेटमा आज अल जेन नेपाल मुभमेन्टले विरोध प्रदर्शन गरेको छ। प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चार जना अभियन्तालाई नियन्त्रणमा लिएको थियाे।

प्रहरीले अभियन्ता हरिकृष्ण गजुरेल, माधव ठकुरी, जनक थापा र अशोक राना मगरलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखेको थियाे। प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सिंहदरबारको मुख्य गेटमा नाराबाजी गर्दै विरोध जनाएका थिए। प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

प्रदर्शनमा सहभागी अभियन्ताहरूले देशलाई कार्यकारी प्रमुख चाहिन्छु, अहिलेको निर्वाचन धोका हो,जेनजीका माग पूरा गर जस्ता नाराहरू लगाएका थिए। उनीहरूले हालको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै तत्काल याे सरकार परिवर्तन गरेर सर्वपक्षीय संयुक्त राष्ट्रिय सरकार गठनको माग अघि सारेका छन्।

अल जेन नेपाल मुभमेन्टले जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेको छ। मुभमेन्टले यस सरकारको विकल्पमा नयाँ सर्वपक्षीय संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग राखेको हाे। अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने अवस्था सिर्जना भएको भन्दै तत्काल सर्वपक्षीय संयुक्त राष्ट्रिय सरकार निर्माण गर्नु अपरिहार्य भएको अभियानता हरिकृष्ण गजुरेलको भनाइ छ।

प्रदर्शनकारीहरूले यथास्थितिमा गरिने निर्वाचनले कुनै वास्तविक परिवर्तन सम्भव नहुने गजुरेलले दाबी गरेका छन्। त्यसैगरी संसद् पुनर्स्थापनाबाट पनि समस्याको दिगो समाधान नआउने उनीहरूको तर्क छ। यी दुवै विकल्पले वर्तमान संकटको उचित समाधान गर्न नसक्ने भन्दै उनीहरूले फरक मार्गको खोजी गर्नुपरेकाे  बताएका छन्।

मुभमेन्टले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्नुपर्ने, सर्वपक्षीय संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने तथा जेनजी आन्दोलनका माग तत्काल पूरा गर्नुपर्ने जस्ता मागहरू जोडदार रूपमा उठाएको छ। यी मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

आजको प्रदर्शनले नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टिलाई प्रस्ट रूपमा देखाएको छ। सरकार परिवर्तन र संरचनागत सुधारको मागसहित भइरहेको यस्तो आन्दोलनले आगामी दिनमा के दिशा लिन्छ भन्ने हेर्न बाँकी छ।