जनता भ्रममा नपरौं,नयाँ भनाउँदाको अनुहार चिनिराखौं
अनुसा थापा
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकेको छ । चुनाव आउन अब धेरै दिन बाँकी छ । नागरिकबीच चुनावको विषयमा बहस शुरु भइसकेको छ । सार्वजनिक स्थल, यातायात, चिया पसलहरुमा जनता चुनावको विषयमा बहस गरिरहेको देखिन्छ । पुरानाभन्दा पनि नयाँको चर्चा बढी भएको पाइन्छ ।
राजनीतिमा नयाँ आएकाहरुको विषयमा नागरिक दुई धार भएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत, तुलसीपुर बुटवल इजलासको आदेशले गत पुस ३ गते बैंक जमानतमा छुटेका छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा छ ।
अमेरिकामा विभिन्न मुद्दा परेपछि नेपाल आएका उनको यहाँ पनि मुद्दाको लिष्ट लामै छ । विभिन्न अदालतमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । पत्रकारिताबाट एकाएक राजनीतिको दुनियाँमा छलाङ मारेका उनीमाथि आफ्नै सहकर्मी शालिकग्राम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप पनि लागेको थियो ।
आत्महत्या दुरुत्साहनमा मुद्दा चलेकोमा पहुँच र पैसाको आडमा उनी छुटे । उनको पार्टी कार्यालयमा काम गर्ने ड्राइभरको छतबाट खसेर निधन भएको थियो । जुन घटना शंकास्पद देखिएको थियो । तर, त्यसलाई पनि सामसुम पारियो । जेनजीहरुलाई उचाल्ने उनी नै हुन् । भदौ २३ र २४ गतेको आन्दोलनमा उनले जेनजीलाई नख्खु जेलभित्रैबाट समर्थन गरेका थिए ।
उनी जेलबाट निस्किएपछि देशभरका कारागारमा आतंक मच्चियो । हुलदंगा हुँदा सुरक्षाकर्मीले गोली चलायो । कारागारमा विभिन्न सजायमा कैद काटिरहेका १० जनाको निधन भयो । कारागारको संरचनामा ठूलो क्षति पुग्यो । उनी भागेपछि मुलुकका विभिन्न २८ कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए ।
जसमध्ये साढे चार हजार अझै बाहिर छन् । उनले समर्थन गरेको आन्दोलनमा झण्डै ८० जनाको ज्यान गयो । सरकारी सम्पत्तिमा ८४ अर्बको क्षति पुगेको छ । निजी सम्पत्तिहरु ध्वस्त बनेको छ । उनको कारणले हजारौं बचतकर्ताको बिल्लीबाठ भएको छ । पत्रकारिता पेसामा हुँदाखेरि घुस लिएर अंकुत सम्पत्ति जोडेको आरोप लागेको व्यक्ति अहिले देश बनाउँछु भनेर हिँडेका छन् ।
योभन्दा हाँस्यास्पद कुरा के हुन सक्छ ? मान्छेले भ्रष्टाचारविरोधी र सुशासनको नारा दिएर मात्र हुँदैन, गरेर देखाउनुपर्छ । विवादै विवादले घेरिएको व्यक्तिले देशलाई भ्रष्टाचारमुक्त बनाउँछ ? सुशासन कायम गर्छ ? वर्तमान समयका अर्का चर्चित पात्र हुन्, बालेन्द्र साह । उनी काठमाडौं महानगरपालिकाको मेयर हुन् ।
युवा मेयर उनले पहिले धेरैले राम्रै व्यक्ति ठान्दथें । तर, उनको पनि असली अनुहार बाहिर आउँदैछ । आफ्नी श्रीमतीले सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दा उनले सिंहदरबार जलाइदिन्छुजस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए । सार्वजनिक रुपमा देखा नपर्ने उनी फेसबुकमा जथाभावी लेख्छन् ।
उनी मेयर बनेपछि महानगर बेतिथिको अखडा बनेको छ । आफ्ना निकटलाई भर्ती गर्ने थलो बनाइएको छ, महानगर । सरकारी सम्पत्तिको चरम दुरुपयोग गरिएको छ । बालेनले पनि भदौ २३ र २४ गतेको आन्दोलनलाई समर्थन गरेका थिए । उनले फेसबुकमा निरन्तर स्ट्याट्स लेखेर भीड भड्काइरहेका थिए ।
उनले समर्थन गरेकै आन्दोलनले सिंह्दरबार जलायो । रवि र बालेनको योजनामा सिंहदरबार, अदालत, प्रहरी कार्यालय जल्यो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । देश जलाउन भूमिका खेल्नेहरुले देश बनाउँछु भन्न सुहाउँदैन । केचाँहि छ र यिनीहरुले गर्न बाँकी ? सबै सिद्धयाइहाले ।
अब एउटै काम गर्न बाँकी छ–यहाँ आतंक मच्चाउने, देश विदेशलाई सुम्पिने । रवि २०५६ सालमा अमेरिका गइसकेका थिए । मुलुक कठिन मोडमा हुँदा उनी अमेरिका गए । २०६६ सालमा उनले नेपाली नागरिकता त्यागेर अमेरिका नागरिकता लिइसकेका थिए । २०७१ जेठमा उनी भिजिट भिसामा नेपाल फर्किए ।
त्यसपछि उनी अमेरिका गएनन् । टेलिभिजनमा काम गर्दापनि भड्काउपूर्ण अभिव्यक्ति दिन्थे । त्यस्तै अभिव्यक्तिले उनलाई चर्चामा ल्यायो । बालेन पनि रविको दोस्रो रुप हुन् । उनीहरु फेसबुकबाट जथाभावी लेख्छन् । समाजमा शान्ति भड्काउने खालका अभिव्यक्ति दिन्छन् । घरी टुकुचामा लगेर गाँड्छु भन्छन् त घरी अन्य देशलाई गाली गर्छन् ।
यी दुई अहिले मिलेका छन् । जनतालाई भ्रमित बनाएर सत्तामा पुग्ने यिनीहरुको दाउ छ । हिजो होस् या आज देशका लागि दुवैको रद्दीभर पनि योगदान छैन । जब देशमा माओवादी जनयुद्ध चलिरहेको थियो, रवि अमेरिकामा मोज गरिरहेका थिए । बालेन र्याप गीत गाउँथे ।
१७ हजार शहिद भएर देशमा लोकतन्त्र गणतन्त्र आयो । अरुले योगदान गरेर ल्याएको व्यवस्थामा यिनीहरु दर मार्न आएका छन् । अरुले पकाएको भात बालेन र रविले पस्किएर खाएका छन् । पुराना नेताले भ्रष्टाचार गरे होलान् । तर, सरकारी सम्पत्तिमा आगो त लगाएका थिएनन् ।
उनीहरुले यत्रो मान्छे मारेका त थिएनन् । रविमाथि भीड भड्काउने अभियोगमा मुद्दा चलाउनुपर्ने हो । तर, सुशासनका लागि बनेको सरकारले छुट दिएको छ । यता, सहकारी ठगीमा जेलमा रहेका उनलाई रिहा गरिएको छ । जबकि, हजारौं सहकारी सञ्चालक जेलमा छन् ।
उनलाई केको छुट ? उनी को हो ? उनी पनि अरुजस्तै सहकारी ठगीका अभियुक्त हुन् । जसमाथि हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ खाएको आरोप छ । त्यस्तो व्यक्तिलाई सरकारले किन छोड्यो ? यदि उनलाई सहकारी ठगीमा छुट पाउने हो भने अरु किन जेलमा छन् ? अरुलाई पनि छोड्दा भइहाल्थ्यो ।
यता, बालेनलाई पनि वर्तमान सरकारले छोडेको छ । सुधन गुरुङ्गलगायतको जेनजीको दबाबमा सरकारी सम्पत्ति जलाउनेलाई रिहा गरिएको छ । प्रहरीले सरकारी सम्पत्तिमा क्षति पुर्याउने ५९१ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरु सुशीला कार्की नेतृत्वका सरकारको दबाबपछि छुटेका छन् ।
कार्की नेतृत्वको सरकारले ४५ जनालाई शहिद घोषणा गरेको छ । आन्दोलनमा मरेका अन्यचाँहि नेपाली नागरिक थिएनन् ? प्रहरीले हानेको गोली लागेर जेलमा १० जना मरेका छन् । उनीहरुलाई किन विभेद ? उनीहरुको सुरक्षा गर्नु त सरकारको दायित्व थियो । तर, सरकारले नै गोली हानेर मार्यो ।
आन्दोलनका क्रममा तीन प्रहरीले सहादत प्राप्त गरे । उनीहरुको हकमा पनि सरकारले कुनै व्यवस्था गरेन । केहीलाई १५ लाख क्षतिपूर्ति र महिनैपिच्छे भत्ता दिँदा अरुलाई भेदभाव गर्न मिल्छ ? सुशीला कार्कीले शहिदलाई दिने भनेको रकम जनताले तिरेको कर हो । अनि कुनैले पाउने, कुनैले नपाउने किन ?
सरकारले जनतामाथि अन्याय गरेको छ । किन सबैले पाउनुपर्थ्यो कि कसैले नि पाउनुहुँदैनथ्यो । करोडौं जनता अहिले सहकारीबाट पीडित छन् । देशको ऐतिहासिक धरोहर जलेको छ । त्यसैले जनताले भोट दिनुअगाडि बारम्बार सोच्नुपर्छ । सही नेतृत्व चुनौं । चर्चित अनुहार हेर्ने होइन, काम गर्ने व्यक्ति खोज्ने हो ।
कुलमान घिसिङ पूर्वकर्मचारी हुन् । उनीमाथि अख्तियारमा भ्रष्टाचार गरेको भन्दै उजुरी पनि परेको थियो । जनताले कसैलाई धमिलो पानीमा माछा मार्ने मौका नदिऔं । देश र जनताले धेरै भोगिसके, अबको निर्वाचनपछि केही परिवर्तन होस् ।
