सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
उनले कृषि र पर्यटनसँगै पूर्वाधार विकासमा जोड दिएर बजेट ल्याएको बताएका छन् । बजेटमा उनले कर्मचारीको तलब भत्ता १० प्रतिशत बढाएको घोषणा गरे।
सत्तारुढ दलहरूबीचको झगडाले मध्यराति बजेट प्रस्तुत भएको हो । बजेटमा मन्त्रालयगत विवरणसमेत प्रस्तुत गरिएको छैन ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ उनले आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड तथा नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको उल्लेख छ ।
त्यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको मन्त्रीको भनाइ छ।
