काँग्रेस देउवा समूहका यी नेताले टेरेनन् गगन थापालाई,गरेनन् क्रियाशील सदस्यता अद्यावधिक
काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका देउवा समूहका ६ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका छैनन् । निवर्तमान सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरूले पार्टी सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ नगरेका हुन् । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जेठ २८ गते राति १२ बजेसम्म यसका लागि समय छुट्ट्याएको थियो, त्यो समयमा उनीहरूले नवीकरण गरेका छैनन् ।
क्रियाशील सदस्यता नवीकरण नगर्नेमा कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, कृष्णबहादुर रोकाया, जीतजंग बस्नेत, जगत तिमिल्सिना, ललितजंग शाही रहेको जनाइएको छ ।
देउवा १३औँ र १४औँ महाधिवेशनबाट सभापति भएपछि पौडेल पार्टी केन्द्रीय कार्यालयको मुख्यसचिव थिए । गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि पौडेलले केन्द्रीय कार्यालयको मुख्यसचिवबाट राजीनामा दिएका थिए। रोकाया राष्ट्रिय सभामा प्रमुख सचेतकको भूमिकामा थिए । तर, भीष्मराज आङ्देम्बेले रोकायालाई हटाएर पदमबहादुर परियारलाई जिम्मेवारी दिएका थिए ।
खाती देउवा पछिल्लो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । बस्नेत १४औँ महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार बन्दै केन्द्रीय सदस्य जितेका व्यक्ति हुन् । शाही कांग्रेसको बहालवाला कर्णाली प्रदेश सभापति हुन् भने कांग्रेसनिकट प्राध्यापक सङ्घका सभापति रहेका तिमिल्सिनाले पनि पार्टीको क्रियाशील सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ नगरेका हुन् ।
उनीहरूबाहेक १४औँ महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचित भएका र पुस अन्तिम साता भएको विशेष महाधिवेशनको पक्षमा नलागेका अधिकांश नेताले सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गरेका छैनन् ।
अद्यावधिक नगर्नेमा निवर्तमान सभापति देउवा, नेता डा.शेखर कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, १४औँ महाधिवेशनका पदाधिकारीहरू उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, किशोरसिंह राठौर, बद्री पाण्डेले सदस्यता अद्यावधिक गरेका छैनन् ।
निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महत, निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, डा.शशांक कोइरालासहितका नेताले पनि सदस्यता अद्यावधिक गरेका छैनन् ।
देउवा र शेखर समूहले १५औँ महाधिवेशनका लागि यसअघि नै सदस्यता नवीकरण गरिसकेकाले अद्यावधिक गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । तर, संस्थापनले भने क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू १५औँ महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरिसकेको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिको जेठ ३० गते बसेको बैठकले विविध कारणले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुट भएका र सदस्यता निरन्तर गर्न चाहनेले असार २० गतेभित्र प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।
