प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट वार्ता भएको छ । उनीहरूबीच आज बिहीबार दिउँसो ३ घण्टा वार्ता भएको हो ।

ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा भेट भएको थियो। उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको जनाइएको छ। कुराकानीको क्रममा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको बताइएको छ।

त्यसक्रममा ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसै क्रममा प्रधानमन्त्री कार्कीले एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुसी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिएकी थिइन्।