अब ५२ जिल्लामा सहसचिव सीडीओ रहने
काठमाडौं। सरकारले ९ वटा पहाडी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० मा उपसचिव खटाउने निर्णय गर्दै ९ जना सहसचिवको दरबन्दी कटौती गरेको छ ।
गृह मन्त्रालयको नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ।
योसँगै अब ७७ मध्ये ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन् । साथै सह–सचिवको दरबन्दी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालयअन्तर्गत नयाँ ’लागूऔषध नियन्त्रण विभाग’ गठन गरिनेछ जसको नेतृत्व सहसचिवले गर्नेछन्।
यसबाहेक वालिङ र बर्दिबास इलाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ।नयाँ व्यवस्थाअनुसार ६ जना उपसचिव र ४६ जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ।
