अहिलेको सरकारमा रहेकालाई राजनीतिक दलप्रति ढल्किने छुट छैन: गृहमन्त्री अर्याल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारका मन्त्रीहरूलाई कुनै राजनीतिक दलप्रति ढल्किने छुट नभएको बताएका छन्।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह गरे।

जेनजी आन्दोलन सुशासन कायमका लागि भएको भन्दै उनले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए। ‘तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्नछ’, मन्त्री अर्यालले भने, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारले गरिरहेका काममा हौसला प्रदान गरी मनोबल बढाइदिनहुनआग्रह गर्छु।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरुका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्नेतर्फ सचेत गराए। उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिनुभयो।