देउवा निकटका अधिकांश नेता थापा नेतृत्वको कांग्रेसमा
काठमाडौं। नेपाली कांग्रेसमा ठूलो राजनीतिक परिवर्तन भएको छ। पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा १३५ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको छ। रोचक कुरा यो छ कि यो नयाँ नेतृत्वमा गएका अधिकांश नेता कुनै समयमा सभापति शेरबहादुर देउवाका विश्वासपात्र सारथि थिए।
२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनपछि देउवाको सभापतित्वमा गठित केन्द्रीय कार्यसमितिका तीन पदाधिकारीसहित कुल ३२ जना नेता थापाको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा गएका छन्। यसले नेपाली कांग्रेसभित्रको शक्ति संरचनामा आएको बदलावलाई प्रस्ट पार्दछ।
देउवा नेतृत्वको समितिमा महामन्त्रीद्वय रहेका गगन थापा र विश्वप्रकाश शर्मा अब नयाँ नेतृत्वमा छन्। थापा सभापति बन्दा शर्मा उपसभापतिमा चयन भएका छन्। सहमहामन्त्री फरमुल्लाह मन्सुरले नयाँ कार्यसमितिमा पनि आफ्नो पुरानो पद कायम राखेका छन्।
नयाँ समितिमा अर्को उपसभापति बनेकी पुष्पा भुसाल देउवाकाे विश्वास पात्र मानिने गर्थिन। देउवाले उनलाई प्रतिनिधि सभामा पार्टीको सचेतक र उपसभामुखसमेत बनाएका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि भुसाल उपसभामुख बनेकी थिइन्।
नवनिर्वाचित कार्यसमितिमा महामन्त्री बनेका प्रदीप पौडेल पनि देउवा नेतृत्वको समितिमा केन्द्रीय सदस्य थिए। उनी १४औँ महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए। तर, २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित भएपछि संसदीय दलको नेताको निर्वाचनकै क्रममा थापासँग निकट भएका हुन्।
अर्को महामन्त्री गुरुराज घिमिरे भने देउवा नेतृत्वको केन्द्रीय समितिमा थिएनन्। १४औँ महाधिवेशनमा कोशी प्रदेश सभापतिमा उद्धव थापासँग झिनो मतान्तरले पराजित भएका घिमिरे अहिले केन्द्रीय नेतृत्वमा पुगेका छन्।
थापा नेतृत्वको कार्यसमितिमा मन्सुरबाहेक निर्विरोध चयन भएका अन्य सात सहमहामन्त्री पनि देउवा नेतृत्वको कार्यसमितिका केन्द्रीय सदस्य थिए। डा.डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदय शमशेर राणा, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा सहमहामन्त्रीमा निर्विरोध चयन भएका छन्।
यी आठ सहमहामन्त्रीमध्ये प्रकाश रसाइली स्नेहीबाहेक सबै देउवाका सारथि नै हुन्। सहमहामन्त्री लामालाई त देउवाले बागमती प्रदेशको मुख्यमन्त्री नै बनाएका थिए। अर्का सहमहामन्त्री राणालाई देउवाले तरुण दलको मनोनीत अध्यक्षदेखि अर्थराज्यमन्त्रीसम्म बनाएका थिए।
देउवा नेतृत्वको केन्द्रीय समितिका २० केन्द्रीय सदस्य थापा नेतृत्वको समितिमा पनि केन्द्रीय सदस्य नै बनेका छन्। गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र केसी, अर्जुनप्रसाद जोशी, चिनकाजी श्रेष्ठ, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुब वाग्ले, विनोद चौधरी, मोहन आचार्य, अजयबाबु सिवाकोटी, जानकी सिंह, नानु बास्तोला, धना खतिवडा, प्रतिमा गौतम, तारामान गुरुङ, अब्दुल सत्तार, अब्दुल रज्जाक र गोपाल दहित सदस्य बनेका छन्।
केन्द्रीय सदस्यमा बसेका गोपालमान श्रेष्ठ पूर्वउपसभापति हुन्। देउवाले २०५९ सालमा नेपाली कांग्रेस फुटाउँदा साथ दिएका श्रेष्ठ देउवाका विश्वासपात्रमध्ये एक मानिन्थे। तर, २०८० सालमा भएको राष्ट्रिय सभा निर्वाचनमा देउवाले टिकट नदिएपछि चिढिएका श्रेष्ठले अन्तिम समयमा थापालाई साथ दिएका हुन्। माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा पनि टिकट नपाएपछि उनले देउवासँग दूरी बनाएका थिए।
१४औँ महाधिवेशनका क्रममा पार्टीको गण्डकी प्रदेश सभापतिमा पराजित अर्जुनप्रसाद जोशी र लुम्बिनी प्रदेश सभापतिमा पराजित भरत शाहलाई देउवाले पछि केन्द्रीय सदस्य मनोनीत गरेका थिए। अहिले उनीहरू नै देउवालाई छोडेर थापाको साथमा गएका छन्।
विश्वप्रकाश शर्मालाई पनि देउवाले पार्टी प्रवक्ता बनाएका थिए। तर, २०७८ सालको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार नबनाएपछि अर्को प्यानलमा पुगेर महामन्त्रीको उम्मेदवार बनी निर्वाचित भएका थिए। अहिले उनी थापा नेतृत्वको समितिमा उपसभापति बनेका छन्।
यसरी हेर्दा नेपाली कांग्रेसको नयाँ नेतृत्वमा गएका अधिकांश नेता कुनै समयमा देउवाका सहयोगी थिए। पार्टीभित्रको यो परिवर्तनले देउवाको राजनीतिक प्रभाव क्षीण हुँदै गएको र नयाँ पुस्ताको नेतृत्व बलियो हुँदै गएको संकेत गर्दछ। अब हेर्ने कुरा यो छ कि थापाको नेतृत्वमा नेपाली कांग्रेसले कस्तो राजनीतिक दिशा लिन्छ र पार्टीलाई नयाँ उचाइमा पुर्याउन सक्छ कि सक्दैन।
