हरिबोल गजुरेल र महेश्वर दाहालसहितका ७ जना नेता नेकपाबाट निस्कासन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निस्कासनमा परेका छन्। पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू कारबाहीमा परेका हुन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा सिन्धुली २ बाट महेश्वर दाहाल पनि पार्टीबाट टिकटका आकांक्षी थिए। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
सिन्धुली २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका छन्। लेखनाथले गत निर्वाचनमा सिन्धुली २ बाट चुनाव जितेका थिए।
बागी उम्मेदवार महेश्वरलाई समर्थन गरेका कारण हरिबोल गजुरेल पनि कारबाहीमा परेका हुन्। पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कारण अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ।

