चितवन-३ को चुनावी गणित,रेणु र सोबिताको भिडन्त
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक चितवनको ३ नम्बर क्षेत्र पनि रहेको छ। रेणु दाहाल र सोबिता गौतमको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
चितवनको ३ न्मब्र क्षेत्रमा माडी नगरपालिकाका नौ वटा वडा र भरतपुर महानगरपालिकाका ६, ८ र ९ तथा १३ देखि २८ नम्बर वडाहरू समावेश गरिएको छ ।
चितवन-३ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख ५५ हजार ३०९ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १७४ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन
यसअघि २०७९ को निर्वाचनमा चितवन-३ मा राप्रपाका नेता विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले ३५ हजार ६० मत प्राप्त गर्दै विजयी भएका थिए। उनलाई एमालेले समर्थन गरेको थियो । त्यस्तै दोस्रो स्थानमा रहेका तत्कालिन माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत प्राप्त गरेका थिए । उनलाई काँग्रेसले समर्थन गरेको थियो।
त्यस्तै काँग्रेसका दिनेश कोइराला पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवार बन्दै १२ हजार २७५ मत प्राप्त गरेका थिए । त्यसैगरी रास्वपाकी जीता बरालले १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्।
त्यस्तै समानुपातिकतर्फ भने यस क्षेत्रमा सबै भन्दा बढी मत रास्वपाले हासिल गरेको थियो । रास्वपाले यस क्षेत्रबाट समानुपातिकमा २८ हजार ४०१ मत प्राप्त गरेको थियो । त्यस्तै राप्रपाले १६ हजार ७५५ मत प्राप्त गरेको थियो । त्यसैगरी तत्कालिन माओवादी केन्द्रले १६ हजार ९० मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार ५२२ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको थियो ।
उम्मेदवार
यस क्षेत्रमा भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहालले राजीनामा दिएर नेकपाबाट उम्मेदवार बनेकी छन् । दुई कार्यक्रम महानगरको प्रमुख भएर काम गरेको आधारमा उनले संसदीय निर्वाचनमा मैदानमा उत्रिएकी छन्।
त्यस्तै रास्वपाकी चर्चित नेतृ सोबिता गौतमको उम्मेदवारीले पनि यस क्षेत्रलाई चर्चामा ल्याएको छ । यस क्षेत्रमा रेणु र सोबिताको चर्चा भइरहँदा काँग्रेसले टेक प्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले शंकरराज थपलियालाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा सबै गरेर २३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन्।
अघिल्लो चुनाव भन्दा यस पटक चितवन९३ को चुनावी अङ्क गणित धेरै बदलिएको छ । नेपाली काँग्रेसका मतदाताले धेरै वर्षपछि आफ्नो चुनाव चिन्ह रुखमा मतदान गर्ने अवसर पाएका छन्। देशभर रास्वपाको लहर देखिदा त्यसको फाइदा यस क्षेत्रमा पनि हुने देखिन्छ। नेकपाबाट रेणु दाहालले आफ्नो महानगरमा गरेको कामको आधारमा मत मागिरहेकी छन्।
राप्रपाबाट अन्तिम समयमा विक्रम पाण्डे पछि हटेपछि राप्रपा तुलनात्मक रूपमा कमजोर नै देखिएको छ। यस क्षेत्रमा रेणु र सोबिताको प्रतिष्पर्धाको फाइदा काँग्रेसलाई हुनसक्ने पनि देखिन्छ। यसरी हेर्दा यस क्षेत्रमा नेकपा, रास्वपा र काँग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने नै देखिन्छ।
