एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी
काठमाडौं। करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक २४ गते नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएकाले उनी आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा सजिलै विजयी भएकी हुन् ।
चार वर्षपछि संसद् यात्रा गर्ने क्रममा झाँक्रीले ६ हजार ३ सय ३ मतभार पाइन्। लुम्बिनीबाट लुम्बिनीबाट तीनै सीटमा कांग्रेस-एमाले गठबन्धनले जित निकालेको छ।
महिला कोटामा झाँक्री विजयी हुँदा अपांगतात कोटामा कांग्रेसका वासुदेव घिमिरे ‘जंगली’ले राष्ट्रिय सभाको यात्रा तय गरे। उनले उनले ५ हजार ३ सय २२ मतभार पाए।अन्य कोटाबाट कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए। उनी ५ हजार ९७७ मतभारसहित विजयी भए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी निर्माण र विस्तारमा सघाएका तर बीचमा अन्य दलतर्फ गएका नेताहरूलाई पुनः एमालेमा फर्कन आह्वान गरेअनुसार उनले एमालेमै यात्रा थालेकी थिइन्।
माधवकुमार नेपालले माओवादी केन्द्रलगायत दलसँग एकता गरेपछि झाँक्री असन्तुष्ट थिइन्। चार वर्षअघि एमाले छाड्दा प्रतिनिधसभाकी सांसद रहेकी झाँक्रीलाई संसद्मा फर्किन एमालेकै सहारा लिनुपरेको हो।
