वैदेशिक रोजगार विभागले भन्यो, जापान जाँदा सजग रहनू
काठमाडौं।वैदेशिक रोजगार विभागले पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गर्ने क्रम बढेकाले सजग रहन आग्रह गरेको छ।
विभागले ब्याचलर, कुक तथा सिपयुक्त श्रमिकलगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेकाले सजग रहन आग्रह गरेको हो ।
विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीका अनुसार विभिन्न प्रकारका भिसा तथा रोजगारीसम्बन्धी कागजात बनाई व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गरेको उजुरी विभागमा आउने गरेको छ।
टोकियोस्थित नेपाली दूतावासका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर आउनेलाई चर्को शुल्क लिने, भने अनुसार काम र तलब नपाउने गरेको उजुरी धेरै आएका छन्।
दूतावासमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापानमा आएका व्यक्तिका उजुरीका चाङ भएकाले यसलाई व्यवस्थित बनाउन विभागलाई पत्राचारसमेत गरेको शिवाकोटीले बताए।
दूतावासको पत्रमा व्यक्तिगत श्रम स्वीकृति लिई जापान जानेलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापानमा काम लगाइदिने भन्दै पठाउने गरेका छन्।

