शिक्षक महासंघले भन्यो-निर्वाचन आचारसंहित पालना गर्न प्रतिबद्ध छौँ

काठमाडौं। नेपाल शिक्षक महासंघले सरकारबाट लागू भएको ‘निर्वाचन आचारसंहिता-२०८२’ पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ। महासंघले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा शिक्षकहरूले पूर्ण रूपले आचारसंहिता पालना गर्ने जनाएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सबै शिक्षकहरूले आचरण पालना गर्ने बताए। उनले भने,‘निर्वाचन आचारसंहिता लागू पनि भइसकेको छ,हामी शिक्षकहरू यो पालना गर्न प्रतिबद्ध छौँ।

यसअघि भएको स्थानीय चुनावमा आचारसंहिता विपरीत प्रधानाध्यापक,शिक्षकहरू राजनीतिक दलको उम्मेदवारीको पक्षमा भोट माग्दै प्रचारप्रसार कार्यक्रममै जाने गरेको पाइएको थियो। तर,अब त्यसरी शिक्षकहरू चुनावीप्रचारप्रसारमा नजाने उनको भनाइ छ।

आचारसंहितामा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण तोकिएको छ।

आचारसंहिताअनुसार विश्वविद्यालय तथा विद्यालयका शिक्षक,प्राध्यापक र कर्मचारीहरू कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाउने छैनन्। कुनै योजनाको शिलान्यास गर्ने,उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता काममा सहभागी हुन पाउने छैनन्।

कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने लगायत आचारसंहितामा उल्लेख छ।