मतदाता परिचयपत्र वितरणको तयारी तीव्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ मतदाताहरूलाई मतदाता परिचयपत्र वितरणको तयारी तीव्र पारेको छ।

केही महिनाअघि मात्र नाम दर्ता गराएकाहरूले मतदान गर्नका लागि यो परिचयपत्र अनिवार्य हुने आयोगले जनाएको छ । नयाँ पुस्तालाई मतदाता नामावलीमा समेट्न आयोगले विशेष अभियान सञ्चालन गरेको थियो । राष्ट्रिय परिचयपत्र भएकाहरूले अनलाइनबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरेपछि धेरै युवा मतदाता थपिएका थिए।

निर्वाचन घोषणा भएपछि खुला गरिएको अभियानमा ८ लाख ३७ हजार ९४ जनाको नाम थपिएको छ । यसमध्ये ४ लाख ९२ हजार १८० जनाले राष्ट्रिय परिचयपत्र प्रयोग गरी अनलाइन आवेदन दिएका थिए भने बाँकीले निर्वाचन कार्यालयमा गएर फारम भरेका थिए ।

अनलाइन आवेदन दिनेहरूलाई आयोगले एसएमएसमार्फत दर्ता सफल भएको जानकारी र मतदाता परिचयपत्र नम्बर पठाएको थियो । यी नयाँ मतदाताहरूको नाम सम्बन्धित मतदान केन्द्रको नामावलीमा समावेश गरिसकिएको छ ।

आयोगले अब मतदाता परिचयपत्र छपाइ र वितरणको काम अगाडि बढाएको छ । निर्वाचन घोषणापछि थपिएका करिब ८ लाख ३७ हजारका साथै २०७९ को निर्वाचनपछिका अन्य समयमा नाम दर्ता गराएकाहरू गरी कुल १० देखि ११ लाख मतदातालाई परिचयपत्र वितरण गर्नुपर्नेछ ।

परिचयपत्र तयार भएपछि आयोगले सार्वजनिक सूचना जारी गरी वितरण प्रक्रिया खुलाउने छ । सामान्यतया परिचयपत्र दुई तरिकाबाट बाँडिनेछ । पहिलो, सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट र दोस्रो, मतदान केन्द्रमा खटिने कर्मचारीले मतदानको २–३ दिनअघि वितरण गर्न सक्नेछन् ।

यदि कुनै कारणवश परिचयपत्र तयार नभएमा आयोगले छुट्टै निर्णय गरी नामावलीमा नाम भएकाहरूलाई अन्य वैधानिक परिचयपत्र (जस्तै नागरिकता) का आधारमा मतदान गर्न दिने व्यवस्था गर्न सक्छ । यसैबीच, आयोगले फोटोसहितको मतदाता नामावली छपाइ गरी जिल्लाहरूमा पठाइरहेको छ ।

पहिलो खेप पठाइसकिएको छ भने बाँकी तीन खेप छपाइ भइरहेको छ। यी नामावली अन्य निर्वाचन सामग्री तथा मतपत्रसँगै पठाइनेछन्।