१६ को बोत्तल ३० मा ! धरहरा टपरी म.म.मा उपभोक्तामाथि ठगी,कुहिएको म.म.पनि बिक्री

काठमाडौं। काठमाडौं महानगरपालिका वार्ड नं. २२ स्थित धरहरा क्षेत्रमा सञ्चालित ‘धरहरा टपरी मम’ पसलले उपभोक्ताहरुसँग व्यापक ठगी गरिरहेको पाइएको छ । यस पसलले बोत्तल पानीको बिक्रीमा सरकारले तोकेको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा झन्डै दोब्बर रकम असुल्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

उपभोक्ताकाहरुका अनुसार, पसलले बिक्री गरिरहेको बोत्तलमा एमआरपी मूल्य १६ रुपैयाँ स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर पसल सञ्चालकहरुले सोही बोत्तल ३० रुपैयाँमा बिक्री गर्ने गरेका छन्, जो तोकिएको मूल्यभन्दा करिब दोब्बर हो । यसरी बढी रकम असुल्ने कार्य उपभोक्ता संरक्षण ऐन र नियमावली विपरीत रहेको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ ।

केही सचेत उपभोक्ताले बोत्तलमा उल्लेखित मूल्य र वास्तविक शुल्कमा देखिएको यो भिन्नताबारे पसल सञ्चालकसँग प्रश्न उठाएका थिए । तर प्रश्न उठाउने उपभोक्तालाई पसल सञ्चालकहरुले उल्टै धम्की दिँदै “जे गर्न सक्छौं गर” भन्दै जवाफ दिने गरेका छन् । यसले पसल सञ्चालकहरुमा उपभोक्ताको गुनासोप्रति जिम्मेवारीबोध नरहेको र उल्टै आक्रामक शैलीमा प्रतिक्रिया दिने प्रवृत्ति देखाएको छ ।

यससँगै थप गम्भीर विषय के हो भने, यही पसलले ग्राहकलाई कुहिएको (बिग्रिएको) ममसमेत बिक्री गर्दै आएको पाइएको छ । खाद्य सुरक्षासँग सिधा जोडिएको यो विषयले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पुर्‍याउन सक्ने भन्दै उपभोक्ता चिन्तित बनेका छन् ।
यसअघि पनि उपभोक्ताहरूले मूल्यसम्बन्धी विषयमा आवाज उठाउने प्रयास गरेका थिए, तर पसल सञ्चालकहरूको धम्कीपूर्ण व्यवहारका कारण धेरैले चुप लागी बस्न बाध्य भएको बताएका छन्।

यस सम्बन्धमा उपभोक्ता हित संरक्षणसँग सम्बन्धित निकाय — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वा स्थानीय वडा कार्यालय — ले तत्काल अनुगमन गरी कारबाही अगाडि बढाउनुपर्ने माग उपभोक्ताहरूले राखेका छन्। खाद्य वस्तुको गुणस्तर र मूल्यसम्बन्धी विषयमा गम्भीर उपेक्षा भएको खण्डमा सम्बन्धित पसल विरुद्ध कानुनी कारबाही हुनुपर्ने उनीहरूको माग छ।

उपभोक्ता अधिकारकर्मीहरूले भने यस्तो घटनाले सामान्य उपभोक्ताको आर्थिक तथा स्वास्थ्य सुरक्षामा गम्भीर असर पुर्‍याउने भन्दै तत्काल नियमनकारी निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

हेर्नुस् भिडियाे..