बालेनसँग झन्डै ५० हजार मतान्तरले ओली पराजित
काठमाडौं। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन्। बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए। बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन्।
श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन्।
झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्राको तयारीमा जुटेका थिए।
