नातावाद त्यागेर उदारता देखाउन ढकाल र पुनको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं। निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्री सुशीला कार्कीले आसापासेलाई दिलाएका नियुक्ति विवादमा परेका छन्। हिजो बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा ओमप्रकाश अर्याल र प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेसँगै विवादमा तानिएकी हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गुल्मी–१ बाट निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले हिजो गरेका नियुक्तिसम्बन्धी निर्णय सच्याएर गल्ती स्वीकार्न आग्रह गरेका छन्।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयले यसअघिका योगदान ओझेलमा पर्ने अवस्था आएको भन्दै उनले ती निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन्। सरकारले प्रधानमन्त्रीका स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषमा नियुक्त गर्नुका साथै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले निर्णय सच्याएर उदारता देखाउनुपर्ने बताउँदै ढकालले प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

ढकालले लेखेका छन्, ‘आमा, जतिसुकै ठूलो महामानव भएपनि गल्ती हुन्छन्। हजुरले देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णय सच्याएर उदारता देखाउनुहुनेछ भन्ने कामना गरेका छौँ।’

उनले कुनै विज्ञता वा अनुभवबिनै प्रधानमन्त्रीका स्वकीय सचिव भएको आधारमा प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकायको नेतृत्व दिन नमिल्ने टिप्पणी पनि गरेका छन्। ‘न कुनै विज्ञता, न अनुभव– मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव। यत्तिको आधारमा प्रकृति संरक्षण कोषजस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र रु हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ,’ उनले लेखेका छन्। ढकालले प्रधानमन्त्रीले निर्णय सच्याएर उदारता देखाउने अपेक्षासमेत व्यक्त गरेका छन्।

यसैगरी, म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्।

उनले कोषको कार्यकारी पदमा आफ्नै स्वकीयलाई नियुक्ति गर्नु एक सय प्रतिशत गलत भएको भन्दै नियुक्त भएका आदर्र्शलाई त्यो पद नलिन आग्रह गरेका छन्। उनले भनेका छन्– ‘सानो लोभका कारण प्रधानमन्त्रीले कमाएको इज्जत धुलोमा नमिलाइदेउ।’

यस्तै किसिमका नातावाद, कृपावाद, चाकरीवाद, चाप्लुसीवादले पुराना दलहरु खत्तम भए। यही पाराले काम गर्ने भए नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन्। त्यसका लागि होसियारी गर्ने म भएको र अब आउने सरकारले त्यसमा बुद्धिविवेक प्रयोग गरेर नियुक्ति गर्ने पुनको भनाई छ।

यस्तै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अरुले गरे नेपोबेबी र भागबण्डा आफूले गरे योगदानको कदर र जिम्मेवारी बाँडफाँड हुने कस्तो प्रवृत्ति हो भन्दै प्रश्न गरेकी छिन्। जेनजी आन्दोलनको प्रतिवेदन अझैपनि सार्वजनिक नगरिएको भन्दै सवकीय नियुक्त गर्ने निर्णय प्रधानमन्त्रीकै हो वा नियुक्ति खाने श्रेष्ठले नै गर्न लगाएको भन्दै प्रश्न उठाएकी हुन्। सर्वोच्च अदालतको कम्प्युटर अपरेटर रहेका श्रेष्ठलाई कार्कीले भदौ २९ गते नियुक्ति दिलाएकी थिइन्।

त्यसयता श्रेष्ठले सत्ताको हालिमुहाली चलाएको भन्दै आलोचना भइरहेकै थियो भने उनले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र सालीसहितका नातागोताका मानिसहरुलाई नियुक्त गरेको भन्दै आलोचनासमेत भएको थियो।