परिवर्तनको सन्देशसहित रवि लामिछानेको जिम्मेवार बोली

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको शैली यसअघि आक्रामक थियो। अरुलाई व्यङ्ग्य प्रहार गरेर बोल्थे। धारणामा थोरै सत्यता र व्यङ्ग्य धेरै हुन्थ्यो।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले सहज बुहमत २ सिट कम दुई तिहाइ ल्याएपछि लामिछानेले आफ्नो त्यो शैलीलाई परिवर्तन गरेका छन्।

ललितपुरको ग्वार्कोमा पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकाहरूलाई रास्वपाले गरेको दुई दिने अभिमुखीकरणको समापनमा लामिछानेको आधा घण्टाभन्दा बढी समय आफ्नो धारणा राखे।

यस क्रममा उनले आफ्नो शैलीलाई पूरै परिवर्तन मात्रै गरेनन्, जनताले दिएको मतको बोध आफूमाथि थुप्रिएको र त्यसलाई कसरी सहज अवतरण गर्ने भन्नेमा ध्यान केन्द्रित गर्ने शैलीमा प्रस्तुत भए ।

उनको धारणाको अधिकांश हिस्सामा सांसदहरूलाई निर्देशन थियो भने केहीमा सत्ता सञ्चालन कसरी गर्ने, पुराना दलहरूसँगको सम्बन्ध कस्तो बनाउने, सांसदहरूले आचारण कस्तो बनाउनु पर्ने र अब आफूहरूको जिम्मेवारी के हो भन्ने विषय समेटिएको थियो ।

लामिछानेले पुराना दलहरूको नेतृत्वप्रति निराशा भएर आफूहरूलाई मत दिएकाले त्यो जनताको विश्वासलाई कायम राख्न सक्नुपर्ने बताए । जनताको विश्वास कायम राख्न नसके पुराना नेतृत्वलाई जनताले ३५ वर्ष कुरे पनि आफूहरूलाई ३५ दिन पनि नकुर्ने भन्दै सांसदहरूलाई उनले सचेत बनाए ।

सञ्चारमाध्यममा विचार गरेर बोल्नुस्। बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेसमेत सोचेर जिम्मेवार भएर बोल्नुस्। नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनुस्,उनले भने, हामीले नागरिकसँग गरेका करारपत्रलाई राम्रोसँग पढ्नुहोला।

हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ। जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्नुछ।