सरकारलाई प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले संसद्मा विचाराधीन विधेयकहरूमा प्रतिपक्षका रचनात्मक संशोधनहरूलाई सरकारले सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

शनिवार काठमाडौँमा ‘संस्कृतिमा काली–कर्णाली’ दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने,सरकारसँग स्पष्ट बहुमत छ, प्रतिपक्षका राम्रा कुरा समेट्दा कमजोर हुने पुरातन मानसिकता त्याग्नुपर्छ।

उनले हाल संसद्मा चलचित्र विधेयक र बौद्धिक सम्पत्ति सम्बन्धी विधेयक विचाराधीन रहेको उल्लेख गरे । प्रतिपक्षले दर्ता गरेका संशोधनलाई स्वीकार गर्दा सरकार कमजोर नहुने तर्क गर्दै उनले आफूले बौद्धिक सम्पत्ति विधेयकमा महत्त्वपूर्ण संशोधन प्रस्ताव गरेको बताए।

विशेष गरी सुदूरपश्चिमको खस भाषा र संस्कृतिको संरक्षण गर्दै यसलाई राष्ट्रको मूल भाषा तथा संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने उनको माग रहेको छ । उनले यस विषयमा थप अध्ययन र गृहकार्य गरिरहेको पनि स्पष्ट पारे । महरले संसदीय समितिमा दफावार छलफल चलिरहेको अवस्थामा सरकारले लचकता देखाउनुपर्नेमा जोड दिए।