रास्वपा पतन हुनेवाला छ: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले रास्वपा अब टिक्न नसक्ने बताए ।

उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्ति बनाउन पार्टीमा आमूल परिवर्तन आवश्यक रहेको जोड दिए । “राष्ट्रिय स्वतन्त्र पार्टी पतन हुनेवाला छ नै, तर त्यसपछि हामी उठ्नका लागि हाम्रो क्रियाकलाप, तरिका र ढाँचामा आमूल परिवर्तन गर्नुपर्छ,लिङ्देनले भने,सङ्गठन संरचना, कार्यशैली र सोचमा व्यापक परिवर्तन गरेर जनतालाई ‘राप्रपा फेरियो, राप्रपा सुध्रियो’ भन्ने सन्देश दिनुपर्छ।

उनले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्र राप्रपा बलियो बन्न नसक्ने बताए । पार्टीले मेहनतका साथ सङ्गठन सुदृढीकरण, कार्यशैली परिवर्तन र जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्ने उनको भनाइ छ ।लिङ्देनले पार्टी राष्ट्रिय पार्टीको हैसियतमा कायम रहे पनि विभिन्न प्रयासबाट यसलाई कमजोर बनाउने काम भएको आरोप लगाए ।

आगामी दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे।एकता र गुटबन्दी अन्त्यको आह्वानअध्यक्ष लिङ्देनले पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी प्रेम र विश्वास कायम गर्नुपर्नेमा जोड दिए। उनले भने, “कोही भाग्नु पर्दैन, डराउनु पर्दैन । हामीलाई एकता चाहिएको छ। विवाद र विभाजनको लामो यात्राबाट पार्टी र विचार कहाँ पुग्दैन भन्ने हामी आफैँ उदाहरण हौँ ।

उनले नेताको पुच्छर समातेर होइन, जनताको हात समातेर पार्टी बलियो बनाउन कार्यकर्तालाई आह्वान गरे । “जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र बलियो बनाउने हो,” उनले भने ।