आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा सम्पन्न निर्वाचन प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदैछ ।
समानुपातिकतर्फका सांसदलाई विहान ११ बजे प्रमाणपत्र वितरण गरेपछि आयोगले आजै अपराह्न राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने भएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहान प्रमाणपत्र वितरण गरेपछि दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए।

उनका अनुसार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ ।

आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ। गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । जसमा प्रत्यक्ष १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन् ।