चिनियाँ राष्ट्रपतिको पुस्तक जलाएको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको विषय छानबिन गर्न समिति बनाएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार सफाइको क्रममा पुस्तकका केही प्रति जलेको भिडिओ सार्वजनिक भएपछि चिनियाँ दूतावासले चासो राख्दै परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएको थियो ।

गृहले मोरङका सहायक सीडीओ सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि समिति सदस्य छन् ।

फोहोर जलाएको भिडिओमा ती पुस्तक पनि जलेको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग जवाफ माग्दै २४ घण्टे पत्र पठाएको थियो। विश्वविद्यालयले ल्याव निर्माणका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरू मुचुल्का उठाएर जलाइएको जवाफ पठाएको छ।

आवश्यक छानबिनसहित प्रतिवेदन बुझाउने गरी समितिलाई १५ दिनको सीमा तोकिएको मोरङका सीडीओ युवराज कट्टेलले बताए।

प्रदेश सरकार मातहतमा रहेको विश्व विद्यालयमा मनमोहन प्रतिष्ठानमार्फत ती पुस्तक आएका थिए। स्व.भरतमोहन अधिकारी प्रतिष्ठानको अध्यक्ष हुँदा नै स्थानीय संघ संस्थालाई वितरण गर्नेगरी ती किताब तत्कालीन मनमोहन पोलीटेक्निक इन्ष्टिच्युटमा आएको बताइएको छ।