रेशम चौधरीको आममाफी विरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं। टीकापुर घटनामा दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदै छ ।

शारदा बोहरा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ । शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए ।

आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नु पर्ने थियो। अदालतको फैसला अनुसार थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि सो कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरेको थियो।

नयाँ संविधान जारी हुन अगाडि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मीसहित आठ जनाको बीभत्स हत्या गरिएको थियो।