निर्वाचन गर्न ३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ खर्च

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनाव गराउन ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको बताएको छ। बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी सार्वजनिक गरेका हुन्।

आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरेको थियो। यसले ढुवानी खर्च र केन्द्रमा हुने अनावश्यक खरिद प्रक्रियालाई घटाएको उनले बताए।

आयोगले सरकारी स्वामित्वका संस्थाहरूसँग समन्वय गरी सामग्री खरिद र ढुवानीमा विशेष सहुलियत प्राप्त गरेको थियो। १३ प्रकारका जटिल सामग्री मात्रै केन्द्रबाट खरिद गरिएको थियो।

आयोगले सरकारसँग कुल ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको र अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति भएको बताए। यसरीले ३ अर्ब ३२ करोडभन्दा बढी रकम बचत भएको आयोगले बताएको छ।

मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले माग गरिएको बजेटको करिब आधा मात्रै खर्च गरेर अर्बौं रुपैयाँ जोगाउन सफल भएको हो।