म्याद गुज्रिएको औषधि बेच्ने फर्मालाई २ लाख बढी जरिबाना
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना तिराएको छ।
बिहीबार अनुगमनका क्रममा काठमाडौं सिनामंगलस्थित जमकटेल फर्माले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको हो।
त्यस्तै, अनुगमनकै क्रममा भक्तपुरको सल्लाघारीस्थित ख्वप मिनी हार्डवेयरलाई पनि २० हजार रुपैयाँ जरिबाना गरिएको छ।
अनुगमन टोलीले जरिबाना बाहेक अन्य ११ वटा व्यापारिक फर्म तथा उद्योगहरूलाई भने व्यवसायमा सुधार गर्न सामान्य निर्देशन दिएर छाडेको छ।
सामान्य निर्देशन पाउनेमा राजधानीका दुई ठूला ग्यास उद्योगहरू दक्षिणकाली–१, चालनाखेलस्थित एभरेष्ट ग्यास उद्योग र काठमाडौं–१६, बालाजुस्थित नेपाल ग्यास उद्योग छन्।
काठमाडौं महानगरपालिका भित्रका बानिया किचन क्राफ्ट (कालिमाटी), सनराइज इलेक्ट्रोनिक्स (कालिमाटी), शर्मा ट्रेड एण्ड प्लाष्टिक सप्लायर्स (बाफल), आरएन ट्रेड कन्सर्न (त्रिपुरेश्वर) र इशिका सर्जिकल हाउस (त्रिपुरेश्वर) लाई पनि सामान्य निर्देशन दिइएको छ।
भक्तपुरतर्फ सूर्यविनायक र मध्यपुर ठिमी क्षेत्रमा सञ्चालित अजिमा हार्डवेयर, भक्तपुर हार्डवेयर एन्ड सेनेटरी , मानन्धर हार्डवेयर सेन्टर र सोफिया एन्ड सोनिया ट्रेडर्सलाई अनुगमनका क्रममा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
